तरुण खबर
१५ श्रावण २०८२, बिहीबार १२:५३
काठमाडाैं, १५ साउन । अमेरिकी नौसेनाको एक अत्याधुनिक एफ–३५सी लडाकु विमान बुधबार साँझ करिब ६:३० बजे नेभल एयर स्टेशन लेमोर नजिकै दुर्घटनाग्रस्त भएको छ। अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार पाइलट सुरक्षितरूपमा बाहिर निस्कन सफल भएका छन् र उनलाई घटनास्थलमै प्राथमिक उपचार दिइएको छ। दुर्घटनाको कारणबारे भने हाल अनुसन्धान भइरहेको छ।
दुर्घटनास्थल फ्रेस्नो सहरबाट करिब ६४ किलोमिटर दक्षिण–पश्चिममा पर्ने खुला कृषि क्षेत्रमा रहेको थियो। स्थानीयद्वारा खिचिएका भिडियोहरूमा आगो र बाक्लो कालो धुँवा देखिएको सीएनएनले जनाएको छ।
दुर्घटनामा परेको एफ–३५सी विमान स्ट्राइक फाइटर स्क्वाड्रन भीएफ-१२५ (रफ रेडर्स) अन्तर्गत रहेको थियो। यो इकाई अमेरिकी नौसेनाका पाइलट र एयरक्रुहरूको प्रशिक्षणका लागि जिम्मेवार छ।
एफ–३५ लाइटनिङ २ विश्वकै एक अत्याधुनिक लडाकु विमान मानिन्छ, जसमा स्टेल्थ टेक्नोलोजी, मल्टीरोल क्षमता र डिजिटल युद्ध प्रणाली जस्ता विशेषताहरू छन्। दुर्घटनामा परेको एफ–३५सी संस्करण विशेष रूपमा विमानवाहक युद्धपोतहरूबाट उड्नका लागि डिजाइन गरिएको हो।
यो सन् २०२५ को दोस्रो एफ–३५ दुर्घटना हो। यसअघि जनवरीमा अलास्कास्थित एयर फोर्स बेसमा पनि एफ–३५ए विमान दुर्घटना भएको थियो। प्रत्येक एफ–३५ विमानको मूल्य करिब १०० मिलियन डलर पर्ने बताइन्छ।


