तरुण खबर
१५ श्रावण २०८२, बिहीबार १६:५३
काठमाडाैं, १५ साउन । अमेरिकी नौसेनाको एक अत्याधुनिक एफ–३५सी लडाकु विमान बुधबार (स्थानीय समय) साँझ करिब ६:३० बजे नेभल एयर स्टेशन लेमोर नजिकै दुर्घटनाग्रस्त भएको छ। अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार पाइलट सुरक्षितरूपमा बाहिर निस्कन सफल भएका छन्। दुर्घटनाको कारणबारे भने हाल अनुसन्धान भइरहेको छ।
स्थानीय आपतकालीन सेवा टोलीले पाइलटलाई घटनास्थलमै प्राथमिक उपचार दिएको छ। दुर्घटनास्थल फ्रेस्नो सहरबाट करिब ६४ किलोमिटर दक्षिण–पश्चिममा पर्ने खुला कृषि क्षेत्रमा रहेको थियो। स्थानीयद्वारा कैद गरिएका भिडियोहरूमा आगो र बाक्लो कालो धुँवा देखिएको सीएनएनले जनाएको छ।
दुर्घटनामा परेको एफ–३५सी विमान स्ट्राइक फाइटर स्क्वाड्रन भीएफ-१२५ (रफ रेडर्स) अन्तर्गत रहेको थियो, जुन अमेरिकी नौसेनाका पाइलट र एयरक्रुहरूको प्रशिक्षणका लागि जिम्मेवार इकाई हो।
एफ–३५ लाइटनिङ २ विश्वकै एक अत्याधुनिक लडाकु विमान मानिन्छ, जसमा स्टेल्थ टेक्नोलोजी, मल्टीरोल क्षमताहरू र डिजिटल युद्ध प्रणाली जस्ता विशेषता छन्। दुर्घटनामा परेको एफ–३५सी संस्करण विशेष रूपमा विमानवाहक युद्धपोतहरूबाट उड्नका लागि डिजाइन गरिएको हो।
यो सन् २०२५ को दोस्रो एफ–३५ दुर्घटना हो। यसअघि जनवरीमा अलास्कास्थित एयर फोर्स बेसमा पनि एफ–३५ए विमान दुर्घटना भएको थियो, जसमा पनि पाइलट सुरक्षित थिए। एफ–३५को मूल्य करिब १०० मिलियन डलर पर्ने बताइन्छ।
विमान निर्माता कम्पनी लकहिड मार्टिन का अनुसार १७ भन्दा बढी देश एफ–३५ कार्यक्रममा आबद्ध छन्। तर, पछिल्ला वर्षहरूमा विमानको मर्मत र तयारीसम्बन्धी समस्याहरूका कारण यसको विश्वसनीयतामाथि प्रश्नहरू पनि उठिरहेका छन्।


