‘राष्ट्रिय कोदो दिवस’ को सुरुवात, कोदोको महत्त्व बढ्दै

‘राष्ट्रिय कोदो दिवस’ को सुरुवात, कोदोको महत्त्व बढ्दै तरुण खबर १६ श्रावण २०८२, शुक्रबार ११:५४
‘राष्ट्रिय कोदो दिवस’ को सुरुवात, कोदोको महत्त्व बढ्दै

काठमाडाैं, १६ साउन । सरकारले आज, साउन १६ गतेदेखि ‘राष्ट्रिय कोदो दिवस’ मनाउने निर्णय गरेको छ । ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ पहिलो राष्ट्रिय कोदो दिवस भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीमा विशेष समारोहका साथ मनाइएको छ ।

यसअघि कृषि अभियन्ताहरूले साउन १५ गतेलाई अन्तर्राष्ट्रिय कोदो दिवसका रूपमा मनाउँदै आएका थिए । अब भने कोदो बालीको संरक्षण र प्रवर्द्धनका लागि सरकारले नै यसलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको हो । कृषि अभियन्ताहरूले लामो समयदेखि यसको माग गर्दै आएका थिए ।

सरकारी स्वामित्व र सहकार्य

यो दिवस कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय कृषक समूह महासंघ नेपाल, र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को संयुक्त आयोजनामा मनाइएको हो । कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कोदोको बढ्दो महत्त्व

पछिल्लो समय सहरी क्षेत्रमा कोदोको माग उच्च रूपमा बढ्दै गएको छ । विज्ञहरूका अनुसार कोदो स्वास्थ्य र पोषणको दृष्टिले अत्यन्त महत्त्वपूर्ण बाली हो, जसमा प्रोटिन, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसले नसर्ने रोगहरूको जोखिम घटाउन मद्दत गर्छ । विगतमा गरिबको खान्की मानिने कोदो अहिले पोषणयुक्त खानाको रूपमा लोकप्रिय बन्दैछ ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८०/८१ मा २ लाख २४ हजार ९३५ हेक्टरमा कोदो खेती भएको थियो, जसबाट ३ लाख ७३२ हजार मेट्रिक टन उत्पादन भएको थियो । तर उत्पादकत्व भने प्रति हेक्टर १.३३ मेट्रिक टन मात्र छ । विज्ञहरूले सिँचाइ, उन्नत बीउ र प्रविधिको प्रयोगबाट उत्पादन बढाउन सकिने बताएका छन् ।

आयातमा कमी, आत्मनिर्भरताको आवश्यकता

भन्सार विभागको तथ्यांकले पनि कोदोको उत्पादनमा आत्मनिर्भरता आवश्यक रहेको देखाउँछ । आर्थिक वर्ष २०८१/८२ मा करिब ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात गरिएको थियो, जबकि सोही अवधिमा ९४ लाख रुपैयाँ बराबरको ७० मेट्रिक टन मात्र निर्यात भएको थियो ।

राष्ट्रिय कोदो दिवसले नीति निर्माता, किसान, उपभोक्ता र सञ्चारकर्मीहरूलाई एकै ठाउँमा ल्याएर कोदोको उत्पादन, उपभोग र यसको महत्त्वबारे बहस गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । देशभर विभिन्न स्थानमा पनि आज कोदो दिवस मनाइएको छ ।