नेपाल–चीन सम्बन्धको ७० औं वर्षगाँठ, दुवै देशमा उत्सव

नेपाल–चीन सम्बन्धको ७० औं वर्षगाँठ, दुवै देशमा उत्सव तरुण खबर १६ श्रावण २०८२, शुक्रबार ११:५८
नेपाल–चीन सम्बन्धको ७० औं वर्षगाँठ, दुवै देशमा उत्सव

काठमाडाैं, १६ साउन । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको छ । सन् १९५५ अगष्ट १ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएका दुई देशले आज ७० औं वार्षिकोत्सव मनाएका छन् । यस अवसरमा काठमाडौं र बेइजिङ दुवै शहरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

नेपालका लागि चिनियाँ राजदूत छन सङले आज साँझ काठमाडौंमा आयोजना गर्न लागेको विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम छ । यसले दुई देशबीचको सम्बन्धको महत्त्वलाई थप उजागर गरेको छ ।

ऐतिहासिक सम्बन्ध र सहकार्य

नेपाल–चीन सम्बन्धको इतिहास प्राचीन कालदेखि नै रहेको छ । नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा स्रोङचेन गम्पोसँगको विवाहलाई यस सम्बन्धको ऐतिहासिक सुरुवात मानिन्छ । पछिल्लो सात दशकमा भने दुई देशबीचको सम्बन्ध अझ मजबुत बन्दै गएको छ ।

पूर्वराजदूत राजेश्वर आचार्यका अनुसार, दुई देशबीचको सम्बन्ध पञ्चशीलका सिद्धान्तहरूमा आधारित छ । शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सम्प्रभुताको सम्मान र अहस्तक्षेप जस्ता सिद्धान्तहरूले दुवै देशको सम्बन्धलाई थप सुदृढ बनाएका छन् । शीर्ष नेताहरूले पनि यस सम्बन्धलाई अझ प्रगाढ बनाउन निरन्तर प्रयास गरिरहेका छन् ।

आजको यो ७० औं वार्षिकोत्सवले नेपाल र चीनबीचको मित्रता र सहयोगलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।