तरुण खबर
१६ श्रावण २०८२, शुक्रबार १२:०४
काठमाडाैं, १६ साउन । नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को अध्यक्षमा निर्वाचित भएको छ । बिहीबार भएको निर्वाचनबाट नेपाल अध्यक्षमा चुनिएसँगै यसले आफ्नो कार्यभार पनि सम्हालेको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका राजदूत लोकबहादुर थापाले यसलाई नेपाल र बहुपक्षीयताप्रतिको उसको प्रतिबद्धताका लागि ‘ऐतिहासिक क्षण’ भएको बताएका छन् ।
आफ्नो अध्यक्षताको मुख्य नारा “डेलिभरिङ बेटर” (अझ राम्रो सेवा प्रदान गर्ने) रहने राजदूत थापाले बताए । यसका लागि सन् २०१५ मा अपनाइएको २०३० एजेन्डालगायतका पहलहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न साझेदारी र बहुपक्षीयतालाई सुदृढ गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । उनले भने, “अझ राम्रो सेवा प्रदान गर्नु कुनै विकल्प होइन, यो एक अनिवार्यता हो । यो बहुपक्षीयतामा विश्वास पुनर्स्थापित गर्ने, विभाजनहरूलाई जोड्ने, जोखिममा रहेकाहरूलाई सशक्त बनाउने र प्रतिबद्धताहरूलाई कार्यमा बदल्ने हाम्रो बाटो हो ।”
साथै, आगामी वर्षका लागि अल्जेरियाका अमर बेन्ड्जामा, स्पेनका हेक्टर गोमेज हर्नान्डेज, डोमिनिकन गणतन्त्रका वेलिङटन दारियो बेन्कोसमे कास्टानोस र आर्मेनियाका पारुइर होभ्हानिस्यान परिषद्को उपाध्यक्षमा निर्वाचित भएका छन् ।


