निर्माण नसकिँदै रामेछापको सडक ध्वस्त, गुणस्तरमाथि प्रश्न

निर्माण नसकिँदै रामेछापको सडक ध्वस्त, गुणस्तरमाथि प्रश्न तरुण खबर १६ श्रावण २०८२, शुक्रबार १२:१७
निर्माण नसकिँदै रामेछापको सडक ध्वस्त, गुणस्तरमाथि प्रश्न

काठमाडाैं, १६ साउन । रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित तिल्पुङ–धोबी सडक निर्माण नसकिँदै भत्किएको छ । पूर्वाधार विकास कार्यालय मन्थलीमार्फत निर्माण भएको यो सडकमा कालोपत्रे (पिच) उक्किएको छ भने कयौँ स्थानमा पहिरो र पर्खाल भत्किएका छन् ।

कमजोर निर्माण र लापरबाही

४ किलोमिटर लामो यो सडक विस्तार र कालोपत्रेका लागि श्री गौरीशङ्कर/रुपाकालीजेभी काठमाडौं सँग २०८० असार १८ गते ठेक्का सम्झौता भएको थियो । १२ करोड ६४ लाख ५४ हजार रुपैयाँको लागतमा २०८२ असार १७ गतेसम्म काम सक्ने लक्ष्य राखिएको थियो । तर, निर्माण कार्य सकिनुअघि नै सडकको अवस्था दयनीय भएको स्थानीयले बताएका छन् ।

स्थानीय मिनुका आले मगरले भनिन्, “पहिला हालेको पिच ठाउँ ठाउँमा भत्कियो, पछि फेरी टालटुल पारेर गए । आँखामा छारो हाल्ने काम मात्र भयो ।” उनका अनुसार सडकको अत्यावश्यक स्थानमा संरक्षण पर्खाल नलगाउँदा गाउँ नै बग्ने जोखिम बढेको छ ।

बस्ती र सवारी आवागमन जोखिममा

तिल्पुङ ढ्याङ्ग्रेमा सडकमाथिको पहिरोले १५ घर भएको बस्ती नै जोखिममा परेको लिखु तामाकोसी गाउँपालिका–७ की कार्यवाहक वडाध्यक्ष कल्पना पाण्डेले बताएकी छन् । उनले भनिन्, “निरन्तर गइरहेको पहिरोले सवारी आवागमन र सर्वसाधारणलाई यात्रामा समेत जोखिम भएको छ ।” वडा सदस्य सरोज आलेले आफूहरूले पटक–पटक कार्यालय र निर्माण व्यवसायीलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरे ।

यस विषयमा निर्माण व्यवसायीको तर्फबाट कुनै प्रतिक्रिया लिन सकिएको छैन । आयोजना सूचना पाटीमा उल्लेख गरिएको साइड इन्चार्ज विक्रम बुढाथोकीको मोबाइल स्विच अफ छ । यस्तै, कार्यालयका प्राविधिक सुदिप कार्कीले आफूले सुरुवाती चरणको मात्र काम हेरेको बताए । स्थानीयहरूले कमसल निर्माण सामग्री र बलियो जगविना पर्खाल लगाइएकोले संरचना भत्किएको बताएका छन् ।