तरुण खबर
१८ श्रावण २०८२, आईतवार ११:२५
काठमाडाैं, १९ साउन । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको तयारी सुरु गरेको छ। यसै सिलसिलामा आज अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ। छलफलमा विभिन्न महत्त्वपूर्ण योजना र कार्यक्रममाथि कुराकानी भएको छ।
बैठकमा भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ। दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिक प्रविधि र तालिमसँग जोडेर रोजगारी र आयआर्जनका अवसर बढाउने लक्ष्य राखिएको छ।
यसैगरी, काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण गर्नका लागि उपत्यकाभित्रका उद्योगहरूलाई बाहिरका औद्योगिक क्षेत्रमा सार्नेबारे पनि छलफल भएको छ। स्थानान्तरण हुने उद्योगहरूलाई विशेष सहुलियत दिनेबारे पनि कुरा भएको छ।
यसका साथै, भारत र चीन लगायतका अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने गरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रयोगशाला स्थापना गर्ने विषयमा पनि छलफल भएको छ। झापा, मकवानपुरको मयुरधाप र चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्र निर्माण गर्ने योजनालाई पनि छलफलमा प्राथमिकता दिइएको छ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा. रामप्रसाद घिमिरे लगायतको उपस्थिति थियो। अर्थ मन्त्रालयले आगामी दिनमा अन्य मन्त्रालय र विभागहरूसँग पनि यस्तै छलफल गर्ने कार्यक्रम रहेको जनाएको छ।


