स्वतन्त्र प्यालेस्टाइन नबनेसम्म हतियार नबिसाउने हमासको अडान

स्वतन्त्र प्यालेस्टाइन नबनेसम्म हतियार नबिसाउने हमासको अडान तरुण खबर १८ श्रावण २०८२, आईतवार ११:४३
स्वतन्त्र प्यालेस्टाइन नबनेसम्म हतियार नबिसाउने हमासको अडान

काठमाडाैं, १९ साउन । इजरायलसँगको युद्धविराम वार्तामा हमासले आफ्नो अडान दोहोर्याएको छ। स्वतन्त्र प्यालेस्टाइन राष्ट्रको स्थापना नभएसम्म र त्यसको राजधानीका रूपमा जेरुसेलमलाई मान्यता नदिएसम्म हतियार नबिसाउने हमासले स्पष्ट पारेको छ। यो अडान इजरायलले राखेको हतियार त्याग्नुपर्ने मुख्य शर्तको विपरीत हो।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टीभ विटकोफले हमास हतियार त्याग्न तयार भएको भन्ने दाबी गरेका थिए। तर हमासले त्यसलाई खण्डन गर्दै प्रतिरोध र हतियारको बाटो नछोड्ने प्रतिबद्धता जनाएको छ। इजरायलले गाजामा चलिरहेको युद्ध अन्त्य गर्न हमासले हतियार त्याग्नुपर्ने शर्तलाई अपरिवर्तनीय बताएको छ। यसै कारण गत हप्ता दुई पक्षबीचको अप्रत्यक्ष वार्ता रोकिएको थियो।

यसैबीच, केही अरब राष्ट्रहरूले हमासलाई हतियार त्याग्न र गाजाको नियन्त्रण छाड्न दबाब दिइरहेका छन्। यो परिस्थिति त्यतिबेला आएको हो जब फ्रान्स र क्यानडा जस्ता केही देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने घोषणा गरेका छन्। बेलायतले पनि सेप्टेम्बरसम्म इजरायलले केही शर्तहरू पूरा नगरेमा प्यालेस्टाइनलाई मान्यता दिने बताएको छ।

अर्कोतर्फ, इजरायली सेना प्रमुख लेफ्टिनेन्ट जनरल अयल जमीरले बन्धकहरूको रिहाइका लागि वार्ताले परिणाम नदिएसम्म गाजामा सैन्य कारबाही जारी रहने चेतावनी दिएका छन्। शनिबार एक इजरायली बन्धक इभियाटर डेभिडको परिवारले हमासले उनलाई भोकै राखेको आरोप लगाएका छन्। एक भिडियोमा उनी कमजोर अवस्थामा देखिएका थिए। परिवारले उनको उद्धारका लागि इजरायली र अमेरिकी सरकारलाई पहल गर्न आग्रह गरेको छ।