तरुण खबर
१८ श्रावण २०८२, आईतवार १२:५१
काठमाडाैं, १९ साउन । केही दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा यस वर्षकै सबैभन्दा उच्च बहाव देखिएको छ। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत लगायतका क्षेत्रमा भएको भारी वर्षाका कारण नदीको जलस्तर ह्वात्तै बढेको हो।
आज बिहान नदीको बहाव र जलस्तर यस वर्षकै उच्च विन्दुमा पुगेको छ। गेज रिडर कृष्णप्रसाद सुवेदीका अनुसार, बिहान नदीको बहाव ६.४० मिटर मापन गरिएको थियो, जुन केही समयका लागि ७.४० मिटरसम्म पुगेको थियो। वर्षा कम भएपछि अहिले जलस्तर घट्दै गएको छ।
नदीमा जलस्तर बढेपछि तटीय क्षेत्रका बस्तीहरूमा बाढीको जोखिम बढेको छ। पर्वतको जलजला गाउँपालिकाका बगरफाँट, वारीबेनी, मिलनचोक, लास्ति र खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा र नयाँपुल, फलेबास नगरपालिकाको जैमिनीघाट र बिहादी गाउँपालिकाको सेतीबेनी बजार उच्च जोखिममा परेका छन्।
पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थलमा रहेको सेतीबेनी बजार भने कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको बाँधका कारण थप जोखिममा छ। आयोजनाको बाँधका सबै ढोका खोलिए पनि कालीगण्डकी र सेतीखोला दुवैको बहाव बढेकाले बजार डुबानमा पर्ने खतरा बढेको छ।


