अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनको तयारी सुरु

अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनको तयारी सुरु तरुण खबर १८ श्रावण २०८२, आईतवार १३:१८
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनको तयारी सुरु

काठमाडाैं, १९ साउन । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी तयारी सुरु गरेको छ। यसैक्रममा आइतबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयका अनुसार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग बजेट कार्यान्वयनबारे छलफल भएको छ।

बैठकमा चालू आर्थिक वर्षको बजेटमा समावेश भएका मन्त्रालयगत योजना तथा कार्यक्रमहरूको कार्यान्वयनका लागि आवश्यक कानुनी, प्रक्रियागत र व्यवहारिक तयारी थाल्ने विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो। छलफलमा विशेषगरी दलित समुदायको परम्परागत सीप र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले ल्याइएको भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम लाई कार्यान्वयनमा ल्याउने विषयमा जोड दिइएको छ। यसअन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण, तालिम र उत्पादित वस्तुलाई बजारसँग जोडेर अघि बढ्ने योजना रहेको छ।

त्यसैगरी, काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण गर्नका लागि उपत्यकाभित्रका उद्योगहरूलाई बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गर्ने र यस्ता उद्योगहरूलाई विशेष सहुलियत दिनेबारे पनि छलफल भएको छ। बैठकमा भारत र चीन लगायतका अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने गरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रयोगशाला स्थापना गर्ने विषयमा पनि कुराकानी भएको छ। यसका साथै, मकवानपुरको मयूरधाप र चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्रको निर्माण गर्ने विषयमा पनि छलफल भएको छ।

उक्त बैठकमा अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका साथै अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र उद्योग सचिव डा. रामप्रसाद घिमिरे लगायतको उपस्थिति थियो। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सबै मन्त्रालय र विभागहरूसँग क्रमशः छलफल गर्ने कार्यक्रम तय गरेको छ।