महाकालीमा बहाव बढ्यो, शारदा ब्यारेजमा सवारी आवागमन बन्द

महाकालीमा बहाव बढ्यो, शारदा ब्यारेजमा सवारी आवागमन बन्द तरुण खबर १९ श्रावण २०८२, सोमबार १२:१०
महाकालीमा बहाव बढ्यो, शारदा ब्यारेजमा सवारी आवागमन बन्द

काठमाडाैं, १९ साउन ।महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी साधनको आवागमन रोकिएको छ। लगातारको वर्षाका कारण नदीको जलस्तर उच्च भएकोले जोखिमलाई मध्यनजर गर्दै आवागमनमा रोक लगाइएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक (cubic feet per second) पुगेपछि सवारी आवागमन रोक्ने मापदण्ड रहेको छ। आज बिहान ८ बजे गरिएको मापनअनुसार, नदीमा पानीको बहाव १ लाख ९ हजार ९८० क्युसेक पुगेको थियो, जसले गर्दा ब्यारेजमा सवारीसाधनको आवतजावतमा प्रतिबन्ध लगाइएको हो।

सुरक्षाका कारण यो कदम चालिएको र जलस्तर सामान्य भएपछि मात्रै सवारी साधनहरूलाई पुनः आवतजावत गर्न दिइने प्रहरीले जनाएको छ। नदीको तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई पनि सतर्क रहन आग्रह गरिएको छ।