तरुण खबर
१९ श्रावण २०८२, सोमबार १२:१५
काठमाडाैं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (LLDC) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान जाने क्रममा दुबई आइपुगेका छन्।
प्रधानमन्त्रीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल आज बिहान ३ बजे (स्थानीय समय) दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। विमानस्थलमा प्रधानमन्त्रीलाई युएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्री र अन्य अधिकारीहरूले स्वागत गरेका थिए।
फ्लाई दुबईको उडानबाट गएको टोली गत राति ११:५५ बजे दुबईका लागि प्रस्थान गरेको थियो। प्रधानमन्त्री ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा यो सम्मेलनमा सहभागी हुन लागेका हुन्। उक्त सम्मेलन यही साउन २२ देखि २५ गते (अगस्ट ५ देखि ८) सम्म तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुँदैछ।


