सिंगटी हाइड्रो इनर्जीको नाफामा उल्लेख्य वृद्धि

सिंगटी हाइड्रो इनर्जीको नाफामा उल्लेख्य वृद्धि तरुण खबर १९ श्रावण २०८२, सोमबार १३:१३
सिंगटी हाइड्रो इनर्जीको नाफामा उल्लेख्य वृद्धि

काठमाडाैं, १९ साउन ।  गत आर्थिक वर्षमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडले झन्डै १५ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार, अघिल्लो आर्थिक वर्षको नोक्सानीलाई पछाडि पार्दै कम्पनीले १४ करोड ९९ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ९२ लाख ५ हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो। नाफामा यो उछाल हुनुको मुख्य कारण विद्युत बिक्री आम्दानीमा भएको भारी वृद्धि हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७२७.९१ प्रतिशत ले बढेर ६८ करोड ७१ लाख ९८ हजार रुपैयाँ पुगेको छ। यसैगरी, सञ्चालन आम्दानी ७६०.६५ प्रतिशतले बढेर ६७ करोड ५ लाख २२ हजार रुपैयाँ पुगेको छ भने अन्य आम्दानी ९२०.४६ प्रतिशतले वृद्धि भएर ६६ लाख ८४ हजार रुपैयाँ पुगेको छ।

यद्यपि, कम्पनीको कुल खर्च पनि बढेको छ। समीक्षा अवधिमा कुल खर्च २५६.७८ प्रतिशतले वृद्धि भई ५२ करोड ७२ लाख ८ हजार रुपैयाँ पुगेको छ। असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ५ रुपैयाँ १७ पैसा पुगेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा र मूल्य-आम्दानी अनुपात ५५.७५ गुणा रहेको छ।