प्राधिकरणको नेतृत्वकै कारण विद्युत् आपूर्तिमा समस्या देखियो : कुलमान घिसिङ

प्राधिकरणको नेतृत्वकै कारण विद्युत् आपूर्तिमा समस्या देखियो : कुलमान घिसिङ तरुण संवाददाता १९ श्रावण २०८२, सोमबार १४:४०
प्राधिकरणको नेतृत्वकै कारण विद्युत् आपूर्तिमा समस्या देखियो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको अहिलेको नेतृत्वले व्यवस्थापन गर्न नसक्दा विद्युत् आपूर्तिमा समस्या देखिएको बताएका छन् ।

‘उज्यालो नेपाल अभियान’ का साथ अमेरिका भ्रमणमा रहेका घिसिङले अस्टिनमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा विद्युत् उत्पादन पर्याप्त रहे पनि प्राधिकरण नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन नसक्दा देशभरि विद्युत् आपूर्तिमा समस्या रहेको टिप्पणी गरे । प्राधिकरणमा अहिले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य छन् ।

‘नयाँ व्यवस्थापन आएपछि बिगतमा सुरु गरिएको सही व्यक्तिलाई सही ठाउँमा लत्याएर राम्रो काम गरिरहेकालाई कुलमानका मान्छे भन्दै जिम्मेवारीबाट हटाउन सुरु गरियो, देशभरिका विद्युत प्रणाली सञ्चान गर्ने भार प्रेषणजस्तो संवेदनशील ठाउँको प्रमुखलाई हटाइयो अहिले चल्दै नचल्ने अवस्था आएपछि पुनः उही व्यक्तिलाई लैजानुपर्ने अवस्था आयो, त्यसैले नेपालमा अहिले देखिएको विद्युत आपूर्तिको समस्या स्रोत नभएर नभई व्यवस्थापन गर्न नसकेर हो, व्यवस्थापनको पूर्ण असफलता हो,’ उनले भने ।

एसियाली विकास बैंकको सहायतामा निर्माण गर्न लागिएको ६७० मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाको लगानी जुटाउनुपूर्वका कामहरु अन्तिम चरणमा पुगिरहेको अवस्थामा अहोरात्र खटिरहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई हटाएर प्राधिकरण व्यवस्थापनले आयोजनालाई अन्यौलमा पार्ने काम गरेको घिसिङले टिप्पणी गरे ।
उनले घाटमा रहेको संस्थालाई नाफामा लगेको, करिब करिब सबैको घरमा बिजुली पुर्याएको, बिगतमा लोडिसेडिङको समयमा डिडिकेटेट तथा ट्रंक लाइनबाट विद्युत् लिएका औद्योगिक ग्राहकको प्रिमियम महसुल बक्यौता उठाउन प्रयास गरिरहेको अवस्थामा सरकारले अपमानपूर्वक आफूलाई हटाएको उल्लेख गरे ।

लोडसेडिङ अन्त्य कुनै जादू नभएर प्राधिकरणको कार्यकारी निर्देशकको दायित्व इमान्दारपूर्वक निर्वाह गर्दा मुलुकबाट लोडसेडिङ अन्त्य भएको उल्लेख गर्दै घिसिङले यसमा तत्कालीन प्रधानमन्त्री, ऊर्जा मन्त्री, प्राधिकरणका कर्मचारी आम उपभोक्ता, विदेशमा रहेका नेपालीकोे साथ र हौसलाले गर्दा थप काम गर्न प्रेरित गरेको बताए ।
‘बिजुलीको उज्यालो पाएका छौं, तर अझै धेरै ठाउँमा अँध्यारो छ, बत्तीको उज्यालोले मात्र हुँदैन भनेर देशमा व्याप्त अँध्यारो हटाउन केही गरौं भन्ने सोच बनाएर उज्यालो नेपाल अभियान चलाएका हौं’, उनले भने ।