तरुण खबर
१९ श्रावण २०८२, सोमबार १५:१२
काठमाडाैं, १९ साउन । योगदानमा आधारित सामाजिक सुरक्षा कोष (SSF) मा आबद्ध हुने योगदानकर्ताको संख्या २४ लाख नाघेको छ। कोषले साउन १८ गतेसम्मको तथ्यांकअनुसार, कुल २४ लाख १८ हजार ८८ जना योगदानकर्ता आबद्ध भएको जानकारी दिएको छ।
कोषका अनुसार, कुल योगदानकर्तामध्ये ठूलो संख्यामा १८ लाख नेपाली आप्रवासी श्रमिकहरू रहेका छन्। औपचारिक क्षेत्रका ६ लाख ७९ हजार ७ जना योगदानकर्ता छन् भने अनौपचारिक क्षेत्रबाट मात्र ७२७ जना र स्वरोजगारबाट ४४४ जना मात्र आबद्ध भएका छन्।
छ वर्षअघि सुरु भएको कोषले हालसम्म ८८.१३ अर्ब रुपैयाँ संकलन गरिसकेको छ भने १६.०३ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ। कोषका उपनिर्देशक रोहित रेग्मीले नेपालको जनसंख्याको करिब ५ प्रतिशतलाई मात्र समेट्न सकेको र अनौपचारिक तथा स्वरोजगार क्षेत्रको सहभागिता न्यून रहेको बताएका छन्।
कोषमा औपचारिक क्षेत्रका कर्मचारीका लागि अनिवार्य दर्ताको व्यवस्था छ भने अन्यका लागि स्वैच्छिक दर्ताको सुविधा छ। कर्मचारीले आफ्नो तलबको ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत गरी कुल ३१ प्रतिशत रकम मासिक रूपमा योगदान गर्छन्।
कोषले चार प्रकारका योजनाअन्तर्गत सेवा प्रदान गर्दै आएको छ। यसमा चिकित्सा, स्वास्थ्य र मातृत्व सुरक्षा तथा दुर्घटना र अशक्तता सुरक्षा योजना प्रमुख छन्। योगदानकर्ताले ओपिडी सेवाका लागि वार्षिक २५ हजार रुपैयाँसम्म र आइपिडी उपचारका लागि १ लाख रुपैयाँसम्म दाबी गर्न सक्छन्।
मातृत्व सुविधाअन्तर्गत ९८ दिनको सशुल्क बिदा र नवजात शिशु हेरचाहका लागि १५ हजार रुपैयाँसम्म पाइन्छ। दुर्घटना र गम्भीर बिरामीको हकमा १० लाख रुपैयाँसम्मको उपचार खर्च र स्थायी अशक्तता भएमा आजीवन तलबको व्यवस्था छ। हालसम्म स्वास्थ्य र मातृत्वतर्फ १ लाख १२ हजार १२८ जनाले २.१९ अर्ब रुपैयाँ तथा दुर्घटना र अशक्ततातर्फ ६,०२४ जनाले २.१० अर्ब रुपैयाँ दाबी भुक्तानी लिएका छन्।
कोषसँग हाल देशभर १०७ वटा अस्पताल आबद्ध छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै ४२, कोशीमा २४, मधेशमा २०, गण्डकीमा १०, लुम्बिनीमा ९ र सुदूरपश्चिममा २ वटा अस्पताल छन्। कर्णाली प्रदेशमा भने हालसम्म कुनै पनि अस्पताल आबद्ध भएका छैनन्।


