तरुण खबर
२० श्रावण २०८२, मंगलवार १२:१५
काठमाडाैं, २० साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८२-८३ को बजेट समयमा पारित गर्न नसकेका स्थानीय तहहरूको समस्या बुझ्नका लागि तीनवटा अनुगमन टोली खटाउने भएको छ। मन्त्री भगवती न्यौपानेको निर्देशनमा गठित यी टोलीहरू साउन २१ गतेदेखि अनुगमनमा जानेछन्।
मन्त्रालयका अनुसार, सहसचिवहरू कालीप्रसाद पराजुली, प्रकाश दाहाल र रुद्रसिंह तामाङको नेतृत्वमा ती टोलीहरू फिल्डमा खटिनेछन्। यी टोलीहरूमा गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघ र सम्बन्धित जिल्ला समन्वय समितिका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्।
कानुनअनुसार स्थानीय तहहरूले असार १० गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने भए पनि ३० भन्दा बढी स्थानीय तहले तोकिएको समयमा बजेट पेस गर्न सकेका छैनन्। यी टोलीहरूले बजेट ल्याउन ढिलाइ गरेका स्थानीय तहहरूसँग समन्वय गरी समस्या पहिचान गर्ने र समाधानका लागि पहल गर्नेछन्।


