भिसा अवधि सकिएपछि नफर्किनेलाई ट्रम्प प्रशासनको कडा नियम: १५ हजार डलरसम्म धरौटी

भिसा अवधि सकिएपछि नफर्किनेलाई ट्रम्प प्रशासनको कडा नियम: १५ हजार डलरसम्म धरौटी तरुण खबर २० श्रावण २०८२, मंगलवार १२:१८
भिसा अवधि सकिएपछि नफर्किनेलाई ट्रम्प प्रशासनको कडा नियम: १५ हजार डलरसम्म धरौटी

काठमाडाैं, २० साउन । अमेरिकामा अवैध रूपमा बस्ने विदेशी आगन्तुकहरूको सङ्ख्या घटाउन ट्रम्प प्रशासनले नयाँ नियम लागू गरेको छ। अमेरिकी राज्य विभागले सोमबार घोषणा गरेको एक पाइलट कार्यक्रमअनुसार अब केही देशका पर्यटक तथा व्यावसायिक भिसामा आउनेहरूले भिसाको अवधि सकिएपछि पनि अमेरिका नछाडेमा १५,००० डलरसम्मको धरौटी जफत हुनेछ।

यो कार्यक्रम सन् २०२४ को चुनावमा अवैध आप्रवासन नियन्त्रणलाई मुख्य एजेन्डा बनाएका राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति अनुरूप ल्याइएको हो। नयाँ नियमअनुसार ती विदेशी नागरिकहरूले कम्तीमा ५,००० डलर धरौटी बुझाउनुपर्नेछ, जुन भिसा अवधि समाप्त हुनुअघि देश छोडेमा फिर्ता हुनेछ। तर, समयमै नछोडेमा धरौटी जफत हुनेछ।

यो कार्यक्रममा कुन-कुन देशका नागरिकहरू पर्नेछन् भन्नेबारे भने विवरण खुलाइएको छैन। तर, यो छनोट गृह सुरक्षा विभागको भिसा ओभरस्टेको तथ्याङ्कका आधारमा गरिनेछ। संघीय रजिस्टरमा प्रकाशित हुन लागेको सूचनामा सन् २०२३ मा हवाई तथा समुद्री मार्ग हुँदै प्रवेश गरेका पाँच लाखभन्दा बढी व्यक्तिहरू भिसाको अवधि सकिएपछि पनि अमेरिका नछाडेको उल्लेख छ।

न्यूयोर्क टाइम्सका अनुसार यो कार्यक्रम आगामी अगस्ट २० देखि लागू हुने तयारीमा छ र यो एक वर्षसम्म चल्नेछ। यो कार्यक्रम मुख्यतया कमजोर ‘स्क्रिनिङ र भेरिफिकेसन प्रणाली’ भएका देशका नागरिकहरू वा लगानीको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिहरूमा केन्द्रित हुनेछ। कन्सुलर अधिकारीहरूले भिसा आवेदनको मूल्याङ्कन गरी आवश्यक धरौटीको रकम निर्धारण गर्नेछन्।