तरुण सम्वाददाता
२० श्रावण २०८२, मंगलवार १२:५६
काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। आजको प्रतिनिधिसभा बैठकमा संघीय निजामती सेवा विधेयकमा प्रस्तावित कुलिङ पिरियड छेडखानी सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन पेस हुने भएको छ।
मंगलबार बिहान तयार पारिएको प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई दोषी देखाइएको छ। दुवैजनाले हेर्दै नहेरी हस्ताक्षर नगरेकाले मुख्य दोषी देखाइएको छ ।
तर कुलिङ पिरियडमा प्रत्यक्ष संलग्न भनिएका मुख्यसचिव एकनारायण अर्याल, संसदका महासचिव पद्मप्रसाद पाण्डेलगायत कर्मचारीलाई परोक्ष संलग्नता देखाएर जोगाइएको छ। समितिका सभापति खतिवडाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा आफूले सही गरेको कुरामा कुनै विवाद नरहेको, तर यो लेख्ने काम आफ्नो नभएको बताएका छन् ।
‘मैले प्रतिवेदन हेरेको छैन । पहिले प्रतिवेदन हेरौं न । सही गरेकै हो, त्यसमा विवादै भएन । तर सहीमा कुलिङ पिरियड राख्नुपर्छ भन्ने स्ट्यान्ड मेरो हो । पारित गर्ने १५ दिनसम्म संसदै छ । संसदले पनि हेर्नुपर्छ होला नि । जिम्मेवार त संसद पनि छ नि,’ उनले भने ।
आजको बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक पत्रहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन० विधेयक, २०८२० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।
साथै, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।


