तरुण सम्वाददाता
२० श्रावण २०८२, मंगलवार १५:५९
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले मंगलबार दिउँसो कांग्रेस संसदीय दलका नेता बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
बानियाँका स्वकीय सचिव मिलन पुडासैनीले आजै दिउँसो ४ बजे प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण हुने जानकारी गराएका छन् ।
बानियाँ बागमतीको छैटौं मुख्यमन्त्री बनेका छन् । ९ साउन ०८२ मा मुख्यमन्त्रीसमेत रहेका दल नेता बहादुरसिंह लामाविरुद्ध बानियाँकै नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । १३ साउनमा अविश्वासको प्रस्तावमाथि मतविभाजन हुँदा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १४ मत परेपछि लामाले दल नेताको हैसियत गुमाएका थिए ।
कांग्रेसकै लामाले आइतबार मुख्यमन्त्रीबाट राजीनामा घोषणा गरेर सोमबार प्रदेश प्रमुखको कार्यालयमा राजीनामा दर्ता गराएका थिए । उनको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि २४ घण्टाको अर्थात् मंगलवार दिउँसो २ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।
एमालेले सरकारमा जाने ६ मन्त्रीको नाम टुंगो लगाइसकेको छ । तर कांग्रेसले भने अझै आफ्नो भागमा परेका मन्त्रीहरुको नाम तय गरेको छैन । कांग्रेसबाट आज धादिङका शिवराज अधिकारी मन्त्री बन्ने नियुक्त हुनेछन् । उनी पार्टी सभापति शेरबहादुर देउवाको रोजाइका नेता हुन् ।



