रास्वपाले माग्यो रामहरि खतिवडाको राजीनामा

रास्वपाले माग्यो रामहरि खतिवडाको राजीनामा तरुण सम्वाददाता २१ श्रावण २०८२, बुधबार १३:४०
रास्वपाले माग्यो रामहरि खतिवडाको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । कुलिङ पिरियडमा गडबडी प्रकरणमा सभापति खतिवडा जिम्मेवार रहेको भन्दै उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

निजामती सेवा विधेयकको मस्यौदामा छेडखानी गर्दै कुलिङ अफ पिरियडलाई निस्प्रभावी बनाइएको सम्बन्धी विवादमा छानबिनका लागि बनाइएको संसदीय समितिले हिजो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनले सभापति खतिवडाले आवश्यक समन्वय गर्न नसकेको भन्दै नैतिक जिम्मेवार ठह¥याएपछि रास्वपाले उनको राजीनामा मागेको प्रवक्ता मनिष झाले बताए ।
रास्वपा सांसद झाले कुलिङ पिरियडमा भएको गडबडीमा दोषी देखिएको भन्दै खतिवडाको राजीनामा माग गरेका छन् । ‘अहिलेको प्रधानमन्त्री भनेपछि हामी कसको नाम सम्झिन्छौँ । कि मेरो नाम लेखिएको छैन भनेर हुन्छ ? यहाँ पदको नाम लेखिएको छ,’ बुधबार प्रतिनिधिसभामा उनले भने, ‘जिम्मेवारीपनको नाम लेखिएको छ, नालायकीपनको नाम लेखिएको छ । हामी राजीनामा माग्दछौँ । हाम्रो आन्दोलनमा एउटा मुद्दा थपिएको छ, राज्य व्यवस्था समितिका सभापतिको राजीनामा ।’

उनले विगतमा सञ्चारमाध्यमहरूमा समाचार आउँदा रास्वपालाई नैतिक प्रश्न सोधिने गरेको स्मरण गरे । ‘कुलिङ अफ पिरियडमा राज्य व्यवस्था समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ । यस्तै–यस्तै छापाखानाहरूमा समाचार आउँदै गर्दा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो,’ झाले भने, ‘अब उहाँलाई नैतिक प्रश्न– यो नालायकीपनको जवाफ कल्ले दिने ? यसको जिम्मेवारीपनको जवाफ कसले दिने ? मेरो नाम लेखिएको छैन भन्दैमा उम्किन पाइन्छ ?’