एनपीएलको दोस्रो संस्करणका लागि १५० खेलाडीको सूची सार्वजनिक, ‘ए’ श्रेणीमा ८ जना

एनपीएलको दोस्रो संस्करणका लागि १५० खेलाडीको सूची सार्वजनिक, ‘ए’ श्रेणीमा ८ जना तरुण खबर २१ श्रावण २०८२, बुधबार १४:४७
एनपीएलको दोस्रो संस्करणका लागि १५० खेलाडीको सूची सार्वजनिक, ‘ए’ श्रेणीमा ८ जना

काठमाडाैं, २१ साउन । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सनमा सहभागी हुने १५० खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ। सुरुमा ४५८ खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका थिए। क्यानको प्राविधिक समिति र आठवटै टोलीको रुचिअनुसार खेलाडीको अन्तिम छनोट गरिएको हो।

छानिएका खेलाडीहरूलाई तीन श्रेणीमा विभाजन गरिएको छ। ‘ए’ श्रेणीमा आठ खेलाडी छन्, जसमा अर्जुन साउद, दिलिप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम रहेका छन्।

त्यस्तै, ‘बी’ श्रेणीमा ३५ खेलाडी परेका छन्, जसमध्ये अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहरा, कृष्ण कार्की र प्रज्वल थापालगायतका खेलाडी छन्। बाँकी १०७ खेलाडी ‘सी’ श्रेणीमा राखिएका छन्।

क्यानका अनुसार, यो फ्रेन्चाइजमा आधारित टी-२० क्रिकेट प्रतियोगिताका लागि खेलाडीको अक्सन यही साउन २४ गते हुनेछ।