तरुण खबर
२२ श्रावण २०८२, बिहीबार १३:०३
काठमाडाैं, २२ साउन । विश्वभर विद्युतीय गाडीको बजारमा आफ्नो पकड जमाउँदै आएको महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा दुई नयाँ इलेक्ट्रिक एसयुभी, बीई ६ र एक्सइभी ९ई, सार्वजनिक गरेको छ। दुवै गाडी नयाँ इङ्ग्लो प्लेटफर्ममा आधारित छन् र ‘माया’ नामक अत्याधुनिक अटोमोटिभ प्रणालीले सञ्चालित छन्। महिन्द्राको यो कदमले नेपाली विद्युतीय सवारीको बजारमा नयाँ अध्यायको सुरुवात गरेको मानिएको छ।
यी गाडीहरूको बुकिङ सुरु भइसकेको छ र यसको बिक्री तथा सेवाको जिम्मा महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपले लिएको छ। कम्पनीका अनुसार, यी गाडीहरू नेपाली ग्राहकहरूको भविष्यमुखी आवश्यकता, प्रविधिप्रतिको मोह र आरामदायक जीवनशैलीलाई ध्यानमा राखेर ल्याइएको हो।
बीई ६ र एक्सइभी ९ई दुवैको डिजाइनमा महिन्द्राको आधुनिक सोच देख्न सकिन्छ। बीई ६ साहसी र पर्फमेन्स मन पराउने ग्राहकका लागि लक्षित छ भने एक्सइभी ९ई भने लक्जरी र सुविधालाई प्राथमिकता दिनेहरूका लागि तयार पारिएको छ। दुवै गाडीमा उन्नत सुविधाका साथै उच्च क्षमताका ब्याट्रीहरू पनि जडान गरिएको छ। बीई ६ मा ५५७ किलोमिटर र एक्सइभी ९ई मा ६५६ किलोमिटरसम्मको प्रमाणित रेन्ज रहेको छ। यी ब्याट्रीहरूमा लामो अवधिको वारेन्टी पनि उपलब्ध छ।
गाडीभित्रको अनुभवलाई अझ उत्कृष्ट बनाउनका लागि ट्रिपल स्क्रिन डिस्प्ले, स्मार्ट थिम, विशेष साउन्ड सिस्टम, र उन्नत ब्रेकिङ प्रणाली जस्ता सुविधाहरू छन्। खासगरी एक्सइभी ९ई मा रहेको अडभान्स्ड एडास (ADAS) सुविधा र अग्मेन्टेड रियालिटी डिस्प्लेले यसलाई अझ स्मार्ट बनाएको छ। ‘माया’ नामक प्रणाली, शक्तिशाली चिपसेट र उच्च गतिको प्रोसेसरले गर्दा गाडी चलाउने अनुभव यात्रामा मात्र सीमित नभएर डिजिटल जीवनशैलीको निरन्तरता बनेको छ।


