नागरिक लगानी कोषको नाफा १३.७१ प्रतिशतले बढ्यो, आम्दानी र खर्चमा पनि सुधार

नागरिक लगानी कोषको नाफा १३.७१ प्रतिशतले बढ्यो, आम्दानी र खर्चमा पनि सुधार तरुण खबर २५ श्रावण २०८२, आईतवार ११:३५
नागरिक लगानी कोषको नाफा १३.७१ प्रतिशतले बढ्यो, आम्दानी र खर्चमा पनि सुधार

काठमाडाैं, २५ साउन । आर्थिक वर्ष २०८२/८३ मा नागरिक लगानी कोष (Nepal Citizen Investment Trust) को नाफामा उत्साहजनक वृद्धि देखिएको छ। कोषले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब १० करोड २४ लाख रुपैयाँको तुलनामा १३.७१ प्रतिशतले बढी हो।

कोषको समग्र आम्दानी र खर्चमा पनि सकारात्मक परिवर्तन आएको छ। समीक्षा अवधिमा कोषको सेवा तथा कमिशन आम्दानी १७.१७ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ पुगेको छ। यसैगरी, कोषको कुल आम्दानी ८.९६ प्रतिशतले बढेर २ अर्ब ९ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

यद्यपि, कोषको ब्याज आम्दानी भने २३.७५ प्रतिशतले घटेर ३३ करोड ७४ लाख रुपैयाँमा झरेको छ। खर्चमा पनि कटौती भएको छ। कुल खर्च ६.७७ प्रतिशतले घटेर ४२ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ, जसले नाफा वृद्धिमा सहयोग पुर्‍याएको छ।

नाफा बढे पनि कोषको प्रतिशेयर आम्दानी (EPS) भने घटेको छ। यस अवधिमा कोषको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४१ पैसाले घटेर १९ रुपैयाँ ३४ पैसामा सीमित भएको छ। चौथो त्रैमासको अन्त्यसम्ममा कोषको मूल्य आम्दानी अनुपात १०२.१५ गुणा र प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा रहेको छ।

कोषको वित्तीय अवस्थालाई हेर्दा, ६ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषमा २० अर्ब ११ करोड रुपैयाँ सञ्चित रहेको छ, जसले यसको बलियो वित्तीय आधारलाई दर्शाउँछ।