काठमाडौं महानगरले पानीको गुणस्तरमा कडाइ: एक हप्तामा २७१ जार नष्ट

काठमाडौं महानगरले पानीको गुणस्तरमा कडाइ: एक हप्तामा २७१ जार नष्ट तरुण खबर २५ श्रावण २०८२, आईतवार १२:३१
काठमाडौं महानगरले पानीको गुणस्तरमा कडाइ: एक हप्तामा २७१ जार नष्ट

काठमाडाैं, २५ साउन । काठमाडौं महानगरपालिकाले पिउने पानीको गुणस्तरमाथि अनुगमन तीव्र पारेको छ। बर्खायाममा पानीजन्य रोगको जोखिम बढ्दै गएपछि महानगरले मापदण्डविपरीतका जार नियन्त्रण र नष्ट गर्ने अभियान चलाएको हो।

पछिल्लो एक हप्तामा मात्रै विभिन्न स्थानबाट २७१ वटा मापदण्डविपरीतका पानीका जारहरू बरामद गरी नष्ट गरिएको छ। महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार, असार र साउन महिनामा १३९ वटा गाडीको जाँच गर्दा ४५६ वटा फोहोर, कुच्चिएका र मापदण्ड नपुगेका जारहरू नियन्त्रणमा लिइसकिएको छ।

कहाँ-कहाँ भयो अनुगमन?

यस आर्थिक वर्षको सुरुदेखि नै महानगरले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु र कोटेश्वरजस्ता मुख्य क्षेत्रहरूमा चेकपोस्ट राखेर अनुगमन गरिरहेको छ।

  • साउन १८ गते, कोटेश्वर: १५ वटा सवारी साधन जाँच गर्दा ७७ वटा मापदण्डविपरीतका जार बरामद।
  • साउन २० गते, बल्खु: ८ वटा कम्पनीका गाडी जाँच गर्दा ५९ वटा कुच्चिएका र फोहोर जार भेटिए।
  • साउन २१ गते, चाबहिल–चुच्चेपाटी: १९ वटा सवारी साधनको अनुगमन गर्दा ६७ वटा जार बरामद गरियो। साथै, पानीको गुणस्तर जाँचका लागि ३ वटा नमुना प्रयोगशालामा पठाइएको छ।
  • साउन २३ गते, माछापोखरी–बालाजु: २० वटा सवारी साधनको जाँच गर्दा ६८ वटा मापदण्डविपरीतका जारहरू फेला परे।

कम्पनीहरूलाई कडा निर्देशन

अनुगमनका क्रममा महानगरले पानी उत्पादक कम्पनीहरूलाई मापदण्डविपरीतका जार प्रयोग नगर्न, जारमा उत्पादन मिति र स्पष्ट लेबल राख्न, बिल-बिजकसहित हिँड्न र पानीको गुणस्तरमा विशेष ध्यान दिन कडा निर्देशन दिएको छ।

फूड टेक्नोलोजिस्ट अशोक पराजुलीका अनुसार, विगतमा हैजाका बिरामी भेटिएकोले महानगर अहिले पानीको गुणस्तरप्रति संवेदनशील बनेको हो। उनले प्रयोगशाला परीक्षणले पानीको शुद्धता सुनिश्चित गर्ने र भविष्यमा समुदायस्तरमा पनि पानी परीक्षण र सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।