दुई वर्षदेखि अज्ञात अवस्थामा रहेका विपिन जोशीका आमा र बहिनी इजरायल प्रस्थान

दुई वर्षदेखि अज्ञात अवस्थामा रहेका विपिन जोशीका आमा र बहिनी इजरायल प्रस्थान तरुण सम्वाददाता २६ श्रावण २०८२, सोमबार ०९:५१
दुई वर्षदेखि अज्ञात अवस्थामा रहेका विपिन जोशीका आमा र बहिनी इजरायल प्रस्थान

काठमाडौं । हमास समूहको अपहरणपछि बेपत्ता विपिन जोशीको परिवार सोमबार इजरायल प्रस्थान गरेको छ । इजरायली राजदूत श्मुलिक ए बासले सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारलाई बिदाइ गरेका छन् ।

फ्लाइ दुबईमार्फत उनीहरू बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्। विपिनको रिहाइका लागि इजरायलमा अन्तर्राष्ट्रिय दबाब बढाउन विपिनकी आमा पद्मा र बहिनी पुष्पा त्यहाँ जान लागेका हुन्। इजरायल सरकारले विपिनको रिहाइका लागि अभियानलाई सशक्त बनाउने उद्देश्यका साथ उनीहरूलाई लैजान लागेको हो।

कृषिका विद्यार्थी विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका थिए। हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २३ गतेदेखि सम्पर्कमा छैनन्। त्यसयता उनको अवस्था अज्ञात छ ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार विपिनका परिवार १० दिन इजरायलमा रहनेछन् । उनीहरूले विपिन अपहरणमा परेको तथा १० नेपालीले ज्यान गुमाएको इजरायलको दक्षिण क्षेत्र आलुमिम किबुज भ्रमण गर्ने र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलगायत उच्च अधिकारीसॅग भेट गर्ने कार्यक्रम छ ।

विपिनका आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघमा समेत लैजाले इजरायलको तयारी छ । जसले हमास समूहलाई अन्तर्राष्ट्रिय दबाब सिर्जना होस् भन्ने इजरायलको चाहना छ ।

दुई वर्षअघि हमासको आतंककारी हमलामा घोडाघोडी– ४ कैलालीका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी– ६ बझाङका गणेशकुमार नेपाली, बौनियाँ– ३ कैलालीका आशिष चौधरी, लेकम– ५ दार्चुलाका दीपेशराज बिष्ट, पचनाली– ३ डोटीका राजन फुलारा, लामिखाल– ८ डोटीका पदम थापा, शारदा– ३ सल्यानका प्रवेश भण्डारी, मालिकार्जुन– ४ दार्चुलाका लोकेन्द्रसिंह धामी, सपही– ६ धनुषाका आनन्द साह र मधुवन– १ सुनसरीका राजेशकुमार स्वर्णकारको मृत्यु भएको थियो ।