तरुण खबर
२६ श्रावण २०८२, सोमबार ११:३०
काठमाडाैं, २६ साउन । दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) का सदस्य राष्ट्रहरूका भन्सार अधिकारीहरूको तीन दिने महत्वपूर्ण बैठक काठमाडौंमा सुरु भएको छ। नेपालको आयोजनामा भएको यस बैठकमा नेपालसहित भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र म्यानमारका उच्च भन्सार अधिकारीहरू सहभागी छन्।
कार्यक्रमको उद्घाटन गर्दै अर्थ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले सीमापार व्यापारलाई सहज र तीव्र बनाउन सदस्य राष्ट्रहरूबीच बलियो सहकार्य अपरिहार्य रहेको बताए। उनले आधुनिक प्रविधिको प्रयोग र समन्वयात्मक सीमा व्यवस्थापनले व्यापारमा हुने ढिलाइ घटाउन र पारदर्शिता बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे। यसबाट क्षेत्रीय आर्थिक समृद्धि हासिल गर्ने साझा लक्ष्य पूरा हुने उनको भनाइ थियो।
सासेक भन्सार उपसमूहका अध्यक्ष तथा भन्सार विभागका महानिर्देशक महेश भट्टराईले बैठकले सदस्य राष्ट्रहरूबीचको सीमापार व्यापार, भन्सार प्रक्रिया र यातायात व्यवस्थापनमा सहकार्यलाई थप सुदृढ बनाउने बताए। उनले डिजिटल प्रविधिले सीमापार व्यापारलाई छिटो र पारदर्शी बनाउन सहयोग पुग्नेमा जोड दिए।
बैठकमा सीमा नाकामा भन्सारसम्बन्धी कागजातको आदान-प्रदान, आयात-निर्यात हुने वस्तुको पूर्वसूचना प्रणाली, इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टमको प्रयोग, र सीमापार यातायात सहजीकरणजस्ता विषयमा छलफल हुनेछ। सहभागी प्रतिनिधिहरूले प्रक्रियागत जटिलता र ढिलाइ कम गर्न प्रविधि र समन्वयमा जोड दिएका छन्।
तीन दिनसम्म चल्ने यस सम्मेलनले क्षेत्रीय व्यापारका लागि साझा नीति बनाउने, भन्सार प्रक्रियालाई पूर्ण रूपमा डिजिटलाइज्ड गर्ने र पूर्वाधार विकासमा जोड दिने उपायहरू पहिल्याउने अपेक्षा गरिएको छ। यस बैठकले भन्सार र सीमा व्यवस्थापनमा क्षेत्रीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।


