तरुण खबर
२६ श्रावण २०८२, सोमबार ११:३४
काठमाडाैं, २६ साउन । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य प्रगति हासिल गरेको छ। बैंकले सार्वजनिक गरेको चौंथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा झन्डै ५ अर्ब नजिक पुगेको छ।
गत वर्ष बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.८० प्रतिशतले बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भएको वृद्धिले नै बैंकको खुद नाफा बढाउनमा मुख्य भूमिका खेलेको देखिन्छ। बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ, जबकि सञ्चालन नाफा ३१.६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ।
बैंकको वितरणयोग्य नाफा पनि ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ पुगेको छ, जसले गर्दा बैंकले आफ्ना सेयरधनीहरूलाई ३८.२७ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ। अघिल्लो वर्ष यस्तो क्षमता ३८.०६ प्रतिशत मात्र थियो।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ छ भने जगेडा तथा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३७.९९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४७.३९ रुपैयाँ रहेको छ। यसका साथै, बैंकको खराब कर्जा पनि ०.३८ प्रतिशतको न्यून बिन्दुमा झरेको छ, जुन अघिल्लो वर्ष ०.७१ प्रतिशत रहेको थियो।


