तरुण खबर
२६ श्रावण २०८२, सोमबार ११:३७
काठमाडाैं, २६ साउन । सानिमा बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ७१ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७.२४ प्रतिशतले बढी हो। बैंकले सोमबार प्रकाशित गरेको चौंथो त्रैमासिक वित्तीय विवरणले यो जानकारी दिएको हो।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी २.८१ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २.९७ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ कायम भएको छ। खुद नाफामा सामान्य वृद्धि भए पनि बैंकको वितरणयोग्य नाफा भने ९२.१३ प्रतिशतले बढेर २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ पुगेको छ। यसले गर्दा बैंकले यस वर्ष आफ्ना सेयरधनीलाई २०.४७ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १८.९३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ रहेको छ। यद्यपि, बैंकको खराब कर्जा भने बढेर १.२१ प्रतिशत पुगेको छ। हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ र जगेडा कोषमा ७ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ रहेको छ।


