तरुण खबर
२६ श्रावण २०८२, सोमबार १२:१६
काठमाडाैं, २६ साउन । साँगे सभ्यता संरक्षण तथा विकास अभियानले ‘साँगे दर्पण’ नामक पुस्तकको समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। साउन २५ गते आइतबार राजधानीको बसुन्धरास्थित साउथ वेस्ट्रन कलेजमा आयोजित उक्त कार्यक्रममा पुस्तकलाई साँगेको समग्र इतिहास समेटिएको महत्त्वपूर्ण कृतिको रूपमा चर्चा गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझाले पुस्तकलाई गहन र मूल्यवान ऐतिहासिक दस्तावेजका रूपमा लिएको धारणा व्यक्त गरे। उनले यस्ता अभियानहरूलाई निरन्तरता दिँदै अझ सशक्त बनाउनुपर्नेमा जोड दिए।
पुस्तक समीक्षकका रूपमा उपस्थित कृषि विज्ञ दिपेन्द्र केशरी न्यौपाने, पूर्व उपसचिव दामोदर भण्डारी लगायतले ‘साँगे दर्पण’ लाई साँगे सभ्यताको ऐतिहासिक प्रमाण भएको उल्लेख गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई यस अभियानमा साथ दिन आग्रह गरे।
अभियानका संयोजक सुरेन्द्र वाग्लेले सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक मूल्य–मान्यताको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए। महासचिव सरोज ओझाले भने, ‘साँगे दर्पण’ को समीक्षाका साथै साँगे क्षेत्रको विकासका लागि भावी कार्यदिशा र रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र र पुस्तक वितरण गरिएको थियो। उक्त कार्यक्रममा बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।


