एनएमबि बैंकको नाफामा उच्च वृद्धि: ३ अर्बभन्दा बढी खुद नाफा आर्जन

एनएमबि बैंकको नाफामा उच्च वृद्धि: ३ अर्बभन्दा बढी खुद नाफा आर्जन तरुण खबर २७ श्रावण २०८२, मंगलवार ११:०९
एनएमबि बैंकको नाफामा उच्च वृद्धि: ३ अर्बभन्दा बढी खुद नाफा आर्जन

काठमाडाैं, २७ साउन । एनएमबि बैंकले गत आर्थिक वर्ष २०८१-८२ मा ३ अर्ब २८ करोड १७ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। बैंकले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.२२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब २४ करोड ४३ लाख रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशतले बढेर ८ अर्ब २ करोड ८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६४.४६ प्रतिशतको वृद्धि सहित ५ अर्ब ३५ करोड २ लाख रुपैयाँ पुगेको छ। यसैगरी, खुद शुल्क तथा कमिसन आम्दानी २१.६२ प्रतिशतले बढेर २ अर्ब १८ करोड १७ लाख रुपैयाँ पुगेको छ।

बैंकको इम्पेयरमेन्ट चार्ज घटेर ९५ करोड ८० लाख रुपैयाँमा झरेका कारण पनि खुद नाफामा वृद्धि देखिएको छ। बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब ९० करोड ९४ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष ऋणात्मक थियो। यसले बैंकलाई आफ्ना सेयरधनीहरूलाई १०.४१ प्रतिशत लाभांश दिन सक्ने क्षमता प्रदान गरेको छ।

हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ र जगेडा तथा कोषमा १४ अर्ब ३१ करोड ६० लाख रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा भने सामान्य बढेर ३.७२ प्रतिशत पुगेको छ।

व्यवसाय विस्तारमा पनि बैंक आक्रामक देखिएको छ। बैंकको निक्षेप २५.४५ प्रतिशतले बढेर २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने कर्जा लगानी १७.९२ प्रतिशतले बढेर २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी १७.९० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८०.६८ रुपैयाँ रहेको छ।