नाइमा एक्स्पोमा बीवाईडीको वर्चस्व: ८०० भन्दा बढी गाडी बुकिङ

नाइमा एक्स्पोमा बीवाईडीको वर्चस्व: ८०० भन्दा बढी गाडी बुकिङ तरुण खबर २७ श्रावण २०८२, मंगलवार ११:१५
नाइमा एक्स्पोमा बीवाईडीको वर्चस्व: ८०० भन्दा बढी गाडी बुकिङ

काठमाडाैं, २७ साउन । हालै सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२५’ मा विद्युतीय गाडी निर्माता बीवाईडीले सर्वाधिक गाडी बुकिङ गरी सबैको ध्यान तानेको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) को आयोजनामा भएको ६ दिने एक्स्पोमा बीवाईडीले मात्रै ८०० युनिटको बुकिङ गरेर कुल बुकिङको झन्डै ३६ प्रतिशत बजार हिस्सा ओगटेको छ। भृकुटीमण्डपमा सम्पन्न यस एक्स्पोमा कुल २,२०० भन्दा बढी गाडी बुकिङ भएको थियो भने एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेका थिए। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक्स्पोमा एटो-वान र सिलायन-७ मोडलहरू प्रदर्शनमा राखेको थियो, जसको आकर्षणले बुकिङमा ठूलो सफलता मिल्यो।

बुकिङको मामिलामा बीवाईडीपछि सांग्रिला मोटर्स कम्पनी दोस्रो स्थानमा रह्यो। कम्पनीले लिपमोटर टी-०३, बी-१० र सिट्रोन सी-थ्री मोडलहरूबाट २२५ भन्दा बढी युनिट बुकिङ गरेको दाबी गरेको छ। विशेषगरी, लिपमोटर टी-०३ मा ६ लाख र सिट्रोनमा साढे ६ लाख रुपैयाँसम्मको छुटले ग्राहकको आकर्षण बढेको थियो। यसैगरी, ओमोडा र जेको ब्रान्डले पनि ३६७ युनिट गाडी बुकिङ गर्न सफल भए। अन्य ब्रान्डहरूमध्ये हुन्डाईले २००, एमजीले १५० र महिन्द्राले १०० युनिट बुकिङ गरे।

दुईपाङ्ग्रे सवारीतर्फ पनि उत्साहजनक बुकिङ देखिएको छ। बजाज चेतक, केटीएम बाइक र ट्रायम्फले २००/२०० युनिट बुकिङ गरे भने एथर स्कुटर १५० भन्दा बढी र बेनेली तथा मोर्बिडेल्ली ८० युनिट बुकिङ भएका छन्। एक्स्पोमा निसान लिफ, सिट्रोन सी-थ्री र ई-सी-थ्री, लिपमोटर टी-०३ जस्ता केही मोडलहरू ‘सोल्ड आउट’ भएका थिए। २० लाख रुपैयाँसम्मको छुट दिइएको कारण ६५ लाख पर्ने निसान लिफ ४५ लाख रुपैयाँमै बिक्री भएको थियो। दुईपाङ्ग्रेतर्फ बेनेली ७५२ एस र व्यावसायिक सवारीतर्फ निसान अर्बान माइक्रोबस पनि सोल्ड आउट भएका छन्।