तरुण खबर
२७ श्रावण २०८२, मंगलवार ११:१७
काठमाडाैं, २७ साउन । भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत् आयोजनाबाट उत्पादन हुने २०० मेगावाट विद्युत् निर्यात गर्न सहमति दिएको छ। भारतले साेमबार यो अनुमति प्रदान गरेको हो। नेपाल विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार, अब भारतमा निर्यात हुने नेपालको कुल विद्युत् क्षमता १००९.१९ मेगावाट पुगेको छ। यसअघि भारतले नेपालका विभिन्न जलविद्युत् आयोजनाबाट ८१०.९ मेगावाट विद्युत् निर्यातको अनुमति दिएको थियो।
यो सहमतिअनुसार, तल्लो सोलुबाट ८० मेगावाट, लिखु–२ बाट ५०.८९ मेगावाट, लिखु खोला ‘ए’ बाट २८.२ मेगावाट, ठूलो खोलाबाट २०.७ मेगावाट, सुपर काबेली खोला ‘ए’ बाट १३.७ मेगावाट र सुपर काबेली खोला आयोजनाबाट ६.८ मेगावाट विद्युत् निर्यात हुनेछ। यी आयोजनाहरूको कुल जडित क्षमता २३५ मेगावाट भए पनि जडित क्षमताभन्दा अलि कम विद्युत् मात्र निर्यात गर्न अनुमति दिइएको प्राधिकरणले जनाएको छ। यो नयाँ अनुमतिले नेपालको ऊर्जा व्यापारमा थप विस्तार हुने अपेक्षा गरिएको छ।


