हिमालयन बैंकको नाफामा वृद्धि, तर लाभांश क्षमता ऋणात्मक

हिमालयन बैंकको नाफामा वृद्धि, तर लाभांश क्षमता ऋणात्मक तरुण खबर २७ श्रावण २०८२, मंगलवार ११:३९
हिमालयन बैंकको नाफामा वृद्धि, तर लाभांश क्षमता ऋणात्मक

काठमाडाैं, २७ साउन । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८१-८२ मा १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २२.१५ प्रतिशतले बढी हो। बैंकले मंगलबार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार नाफामा वृद्धि भए पनि बैंकको लाभांश वितरण क्षमता भने ऋणात्मक रहेको छ।

नाफा वृद्धि भए पनि बैंकको खुद ब्याज आम्दानी भने ९.९९ प्रतिशतले घटेर १० अर्ब ४५ करोड ६६ लाख रुपैयाँमा झरेको छ। यद्यपि, सञ्चालन नाफा भने ८८.४१ प्रतिशतले बढेर ५ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ पुगेको छ। यसैगरी, बैंकको खराब कर्जा अनुपात अघिल्लो वर्षको ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत पुगेको छ।

बैंकको वितरणयोग्य नाफा ७ अर्ब १० करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ, जसका कारण यो वर्ष पनि बैंकको लाभांश क्षमता ३२.७९ प्रतिशत ऋणात्मक देखिएको छ। अघिल्लो वर्ष पनि बैंकको अवस्था यस्तै थियो। बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ भने जगेडा तथा कोषमा १६ अर्ब २५ करोड ८४ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ६.९८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७५.०७ रुपैयाँ कायम भएको छ।

व्यवसायिक विस्तारको कुरा गर्दा, बैंकको निक्षेप ५.१९ प्रतिशतले बढेर ३ खर्ब ९ अर्ब १५ करोड ८६ लाख रुपैयाँ पुगेको छ। कर्जा प्रवाहमा भने सुस्तता देखिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.१४ प्रतिशत मात्र बढेर २ खर्ब ३२ अर्ब ८५ करोड ८२ लाख रुपैयाँ कायम भएको छ।