तरुण खबर
२७ श्रावण २०८२, मंगलवार ११:४३
काठमाडाैं, २७ साउन । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१-८२ मा ६७ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ०.१६ प्रतिशतले सामान्य बढी हो। अघिल्लो वर्ष कम्पनीले ६७ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको सञ्चालन नाफा ३.६१ प्रतिशतले बढेर ७१ करोड रुपैयाँ पुगेको छ। गत वर्ष कम्पनीले १ अर्ब १२ करोड ४९ लाख रुपैयाँको बिजुली बेचेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ०.८१ प्रतिशत मात्र बढी हो। यद्यपि, कम्पनीको वित्तीय आम्दानी भने १६.७० प्रतिशतले घटेर १३ करोड ४० लाख रुपैयाँ कायम भएको छ। हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ७८ करोड २३ लाख रुपैयाँ छ। कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ७.७४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३०.५९ रुपैयाँ रहेको छ।


