तरुण खबर
२७ श्रावण २०८२, मंगलवार ११:५४
काठमाडाैं, २७ साउन । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आर्थिक वर्ष २०८१-८२ मा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो वर्ष १ अर्ब ४४ करोड ७० लाख रुपैयाँको नोक्सानीमा रहेकोमा गत वर्ष यो घाटा घटेर ६६ करोड ३ लाख रुपैयाँमा झरेको छ।
कम्पनीले व्यापार विस्तारमा जोड दिँदा बिक्री आम्दानीमा दोहोरो अंकको वृद्धि भएको छ। गत वर्ष कम्पनीले ५ अर्ब ५ करोड ८ लाख रुपैयाँको व्यापार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.७९ प्रतिशत बढी हो। अघिल्लो वर्ष ४७ करोड ४३ लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चालन नाफा पनि गत वर्ष ९ करोड ९ लाख रुपैयाँ धनात्मक भएको छ। व्यापार वृद्धि र सञ्चालन नाफामा आएको यही सुधारले कम्पनीको खुद नोक्सानी घट्न सहयोग पुगेको हो।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ४ करोड १२ लाख रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) भने अझै पनि १४.४६ रुपैयाँ ऋणात्मक नै छ। प्रतिसेयर नेटवर्थ भने १८८.४७ रुपैयाँ कायम भएको छ।


