तरुण खबर
२७ श्रावण २०८२, मंगलवार १३:३२
काठमाडाैं, २७ साउन । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१–८२ मा ७१ करोड ३१ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। कम्पनीले हालै प्रकाशन गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३.६३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ६८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको खुद बीमा शुल्क आर्जन ११.५८ प्रतिशतले बढेर २ अर्ब ५ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष कम्पनीले १ अर्ब १३ करोड ४९ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य कमी हो। कम्पनीको कुल आम्दानी २.०६ प्रतिशतले बढेर ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ३.३६ प्रतिशतले घटेर २ अर्ब ८ करोड ८३ लाख रुपैयाँ कायम भएको छ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) २५.४१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २७४.५६ रुपैयाँ रहेको छ। कम्पनीले विशेष जगेडा कोषमा २ अर्ब ५० करोड रुपैयाँ र महाविपत्ति कोषमा २२ करोड ४३ लाख रुपैयाँ राखेको छ।


