शिबम सिमेन्टको नाफामा विशाल वृद्धि: प्रतिसेयर आम्दानी पनि बढ्यो

शिबम सिमेन्टको नाफामा विशाल वृद्धि: प्रतिसेयर आम्दानी पनि बढ्यो तरुण खबर २८ श्रावण २०८२, बुधबार ११:४९
शिबम सिमेन्टको नाफामा विशाल वृद्धि: प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडाैं, २८ साउन । नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिबम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको नाफामा उल्लेख्य वृद्धि देखिएको छ।

गत आर्थिक वर्षमा कम्पनीले ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०५.८५ प्रतिशत अर्थात ३.०५ गुणा बढी हो। अघिल्लो वर्ष कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफामा यस्तो उछाल आए पनि कम्पनीको व्यापार भने सामान्य मात्र बढेको छ। गत आर्थिक वर्षमा कम्पनीको व्यापार ०.७८ प्रतिशत बढेर ७ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले ७ अर्ब ७० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो।

यस अवधिमा कम्पनीको अन्य आम्दानी ३०.७८ प्रतिशतले घटेर १३ करोड ९४ लाख रुपैयाँ कायम भएको छ, भने कुल खर्च १.६६ प्रतिशतले घटेर ९४ करोड ६ लाख रुपैयाँ पुगेको छ।

नाफा वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी (EPS) पनि ९.३९ रुपैयाँले बढेर १४.५५ रुपैयाँ पुगेको छ। साथै, प्रतिसेयर नेटवर्थ १८८.५७ रुपैयाँ रहेको छ।

हाल शिबम सिमेन्टको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ छ र कम्पनीको जगेडा तथा कोषमा ४ अर्ब ८३ करोड २९ लाख रुपैयाँ सञ्चित रहेको छ।