तरुण खबर
२८ श्रावण २०८२, बुधबार ११:५२
काठमाडाैं, २८ साउन । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकले ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १.०९ प्रतिशतले मात्र बढेको हो। अघिल्लो वर्ष बैंकले ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८५ प्रतिशतले घटेर १६ अर्ब ७१ करोड २२ लाख ७७ हजार रुपैयाँ भएको छ, जबकि अघिल्लो वर्ष यस्तो आम्दानी १६ अर्ब ८५ करोड ६३ लाख रुपैयाँ थियो। त्यसैगरी, सञ्चालन नाफा पनि ३.०१ प्रतिशतले घटेर ८ अर्ब ७७ करोड ५ लाख ७८ हजार रुपैयाँ कायम भएको छ।
बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ। हाल ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले यस वर्ष आफ्ना सेयरधनीहरूलाई १४.११ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता बनाएको छ। बैंकको जगेडा कोषमा २४ अर्ब २१ करोड रुपैयाँ सञ्चित छ।
गत आर्थिक वर्षमा बैंकको प्रतिसेयर आम्दानी (EPS) १६.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ। यसैगरी, बैंकको खराब कर्जा ४.८७ प्रतिशतमा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा बढेको देखिन्छ।
बैंकको व्यवसायमा भने दोहोरो अंकको वृद्धि भएको छ। गत वर्ष निक्षेप संकलन १२.९५ प्रतिशतले बढेर ५ खर्ब ५० अर्ब ६२ करोड ८४ लाख रुपैयाँ पुगेको छ, भने कर्जा लगानी ११.४६ प्रतिशतले बढेर ४ खर्ब ११ अर्ब ७९ करोड १७ लाख रुपैयाँ पुगेको छ।


