तरुण खबर
२८ श्रावण २०८२, बुधबार ११:५६
काठमाडाैं, २८ साउन । प्रभु बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ। एक वर्षको अवधिमा बैंकले आफ्नो नाफा १०.६५ गुणाले बढाएको छ।
गत आर्थिक वर्षमा बैंकले ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९६५.४१ प्रतिशतले बढी हो। यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने ३९.४७ प्रतिशतले घटेर ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँमा सीमित भएको छ।
बैंकको सञ्चालन नाफा ९९.४५ प्रतिशतले बढेर ६ अर्ब २८ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो नाफा ३ अर्ब १५ करोड रुपैयाँ मात्र थियो।
वितरणयोग्य नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ रहेको छ, जसका आधारमा बैंकले आफ्ना सेयरधनीहरूलाई ४.४४ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ऋणात्मक थियो।
बैंकको प्रतिसेयर आम्दानी (EPS) पनि अघिल्लो वर्षको २.१७ रुपैयाँबाट बढेर २३.१२ रुपैयाँ पुगेको छ। यसैगरी, प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ रहेको छ।
हाल बैंकको खराब कर्जा ४.९६ प्रतिशत रहेको छ। बैंकको निक्षेप संकलन १२.१९ प्रतिशतले बढेर ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ४.२२ प्रतिशतले बढेर २ खर्ब ३० अर्ब ३७ करोड २ लाख रुपैयाँ पुगेको छ।
हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ र जगेडा कोषमा १४ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ सञ्चित छ।


