तरुण खबर
२८ श्रावण २०८२, बुधबार १२:०६
काठमाडाैं, २८ साउन । जलविद्युत उत्पादन कम्पनी माउन्टेन इनर्जी नेपाल लिमिटेडको नाफा आर्थिक वर्ष २०८१/८२ मा १३३.९५ प्रतिशतले बढेको छ। कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यो अवधिमा कम्पनीले ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा २६ करोड ८९ लाख रुपैयाँ मात्र थियो। नाफा वृद्धिको मुख्य कारण विद्युत बिक्रीबाट हुने आम्दानीमा भएको वृद्धि, बीमा दाबी भुक्तानीबाट प्राप्त रकम र ब्याज खर्चमा आएको कमी हो।
मुख्य वित्तीय सूचकहरूमा सुधार
यसका साथै, कम्पनीले बीमा दाबी भुक्तानीबाट ८ करोड ६ लाख रुपैयाँ प्राप्त गरेको छ र ब्याज खर्च २६ करोड ८८ लाख रुपैयाँबाट घटेर २४ करोड ४३ लाख रुपैयाँ भएको छ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रुपैयाँ रहेको छ भने रिटेन अर्निङ १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। माउन्टेन इनर्जीले आफ्नो ४२ मेगावाटको मिस्ट्रीखोला र ५ मेगावाटको ताँदीखोला जलविद्युत परियोजनाबाट नियमित उत्पादन गरिरहेको छ र कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि लगातार आफ्ना सेयरधनीहरूलाई लाभांश दिँदै आएको छ।


