लगानीकर्ताहरूकाे माग: संस्थापक र सर्वसाधारण सेयरका लागि अलग-अलग ‘आईजीन’ नम्बर लागू गरियोस्

लगानीकर्ताहरूकाे माग: संस्थापक र सर्वसाधारण सेयरका लागि अलग-अलग ‘आईजीन’ नम्बर लागू गरियोस् तरुण खबर २८ श्रावण २०८२, बुधबार १४:४३
लगानीकर्ताहरूकाे माग: संस्थापक र सर्वसाधारण सेयरका लागि अलग-अलग ‘आईजीन’ नम्बर लागू गरियोस्

काठमाडाैं, २८ साउन । पूँजी बजारको पारदर्शिता र सुशासन कायम गर्न सीडीएस एण्ड क्लियरिङ लिमिटेडले ल्याएको ‘अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजीन)’ सम्बन्धी निर्देशिकालाई लगानीकर्ता संघ–संस्थाहरूले पूर्ण समर्थन गरेका छन्। उनीहरूले यो निर्देशिका यथाशीघ्र कार्यान्वयन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग माग गरेका छन्।

बुधबार पाँचवटा प्रमुख लगानीकर्ता संघसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आईजीन निर्देशिका कार्यान्वयन नभए पूँजी बजारमा भइरहेको दुरुपयोग झनै बढ्ने चेतावनी दिएका छन्। उनीहरूले केही कम्पनीका संस्थापक लगानीकर्ताहरूले कर्मचारीको मिलेमतोमा एउटै आईजीन नम्बरको दुरुपयोग गरी संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत नहुँदै दोस्रो बजारमा महँगो मूल्यमा बिक्री गरेको गम्भीर आरोप समेत लगाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘संस्थापक सेयर बिक्रीमा देखिएको विकृति गम्भीर छ, यसको तत्काल छानबिन गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्छ।’

लगानीकर्ता संघसंस्थाहरूले संस्थापक र सर्वसाधारण सेयरका लागि फरक-फरक आईजीन नम्बर तोक्ने व्यवस्थालाई स्वागतयोग्य र दूरदर्शी कदमको रूपमा लिएका छन्। उनीहरूले यो व्यवस्थाले संस्थापक सेयरको दुरुपयोग रोक्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

साथै, संस्थाहरूले कुनै पनि कम्पनीको आईपीओ वा हकप्रद सेयर स्वीकृत गर्नुअघि सेबोनले सम्बन्धित कम्पनीको सुशासन, जोखिम बहन क्षमता, पारदर्शिता, व्यवस्थापन र व्यावसायिक योजनाको गहिरो अध्ययन गर्नुपर्ने माग पनि अघि सारेका छन्।

‘केही संस्थापकहरू तीन वर्ष पनि नपुग्दै कम्पनीबाट बाहिरिन खोज्ने प्रवृत्तिले पूँजी बजारमा विश्वासको संकट सिर्जना गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो प्रवृत्ति नियन्त्रण गर्न आवश्यक नीति तथा कानुन निर्माण गर्न सेबोनले अग्रसरता लिनुपर्छ।’