तरुण खबर
२९ श्रावण २०८२, बिहीबार ११:३६
काठमाडाैं, २९ साउन । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा रु. १ अर्ब ८० करोड २५ लाख खुद नाफा आर्जन गरेको छ। बैंकले बिहीबार प्रकाशन गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९.८६% ले कम हो। अघिल्लो वर्ष बैंकले रु. १ अर्ब ९९ करोड ९७ लाख खुद नाफा कमाएको थियो।
नाफामा कमी आए पनि बैंकको खुद ब्याज आम्दानी भने ३.७२% ले बढेर रु. ५ अर्ब २६ करोड २३ लाख पुगेको छ। त्यसैगरी, नेट फि तथा कमिसन आम्दानी पनि ७.५५ प्रतिशतले वृद्धि भई रु. १ अर्ब २१ करोड ६१ लाख पुगेको छ।
यस वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज बढेर रु. १ अर्ब २ करोड ८५ लाख पुगेका कारण खुद नाफा घटेको देखिएको छ। अघिल्लो वर्षको तुलनामा बैंकको सञ्चालन नाफा पनि ३.६२ प्रतिशतले घटेर रु. २ अर्ब ७३ करोड ३७ लाखमा झरेको छ।
बैंकको वितरणयोग्य नाफा रु. १ अर्ब २३ करोड ३ लाख रहेको छ, जसका आधारमा बैंकले आफ्ना सेयरधनीहरूलाई ११.२९% सम्म लाभांश दिन सक्ने अनुमान गरिएको छ।
हाल बैंकको प्रतिसेयर आम्दानी रु. १६.५४ र प्रतिसेयर नेटवर्थ रु. १८८.५९ छ। बैंकको चुक्ता पुँजी रु. १० अर्ब ८९ करोड ९१ लाख रहेको छ भने जगेडा कोषमा रु. ९ अर्ब ६५ करोड ६० लाख सञ्चित छ।
बैंकको खराब कर्जा पनि बढेको छ। अघिल्लो वर्ष १.३५% रहेको खराब कर्जा यस वर्ष बढेर ३.३५% पुगेको छ।
व्यवसायिक विस्तारतर्फ, बैंकको निक्षेप १३.७२% ले बढेर रु. १ खर्ब ९९ अर्ब ६० करोड ३४ लाख पुगेको छ। त्यसैगरी, कर्जा लगानी ७.१३% ले वृद्धि भई रु. १ खर्ब ३४ अर्ब ९६ करोड ५८ लाख पुगेको छ।


