तरुण खबर
२९ श्रावण २०८२, बिहीबार १२:१७
काठमाडाैं, २९ साउन । नेपालको स्टिल उद्योगमा गम्भीर संकट देखिएको छ। निर्माण क्षेत्रको मेरुदण्ड मानिने यस उद्योगको समग्र व्यापारमा ठूलो गिरावट आएको छ, जसले अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा ओगटेको यस क्षेत्रलाई गम्भीर जोखिममा पारेको छ। सन् २०२४ मा १६ प्रमुख स्टिल कम्पनीहरूको व्यापार १८.८४ प्रतिशतले घटेर रु. ८५ अर्ब ७२ करोड ९० लाखमा सीमित भएको छ। अघिल्लो वर्ष सन् २०२३ मा यिनै कम्पनीहरूले रु. १ खर्ब ५ अर्ब ६३ करोड १० लाखको व्यापार गरेका थिए। यस गिरावटको प्रमुख कारणहरूमा निर्माण क्षेत्रमा देखिएको सुस्तता, विदेशी स्टिलको आक्रामक आयात, मूल्य प्रतिस्पर्धा र सरकारी नीतिको अस्पष्टतालाई मानिएको छ। ठूला पूर्वाधार परियोजनाहरू स्थगित हुँदा र रियल इस्टेटमा लगानी घट्दा स्टिलको मागमा प्रत्यक्ष असर परेको छ, जसले गर्दा अधिकांश कम्पनीहरूले व्यापारमा संकुचन भोगेका छन्।
यस संकटका बाबजुद पनि केही नयाँ र मझौला कम्पनीहरूले भने आफ्नो व्यापार बढाउन सफल भएका छन्। स्टिल उड नेपालको व्यापार ६२.३३ प्रतिशतले बढेको छ भने विजयश्री स्टिलले ५७.७२ प्रतिशतको वृद्धि हासिल गरेको छ। त्यसैगरी, प्रिमियर स्टिल र गोदावरी स्टिलले पनि क्रमशः १२.१५ प्रतिशतर १.६७ प्रतिशतको वृद्धि देखाएका छन्। यी कम्पनीहरूले बजारमा कडा प्रतिस्पर्धाका बीच पनि आफ्नो स्थान बनाउन सफल भएका छन्। यद्यपि, बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको जगदम्बा स्टिलको व्यापारमा २४.६१ प्रतिशतको कमी आएको छ, जसले समग्र उद्योगको व्यापारमा ठूलो असर पुर्याएको छ। अम्बे स्टिल र लक्ष्मी स्टिलजस्ता अग्रणी कम्पनीहरूले पनि क्रमशः ३.४६ प्रतिशत र १४.७३ प्रतिशतको व्यापार घाटा भोगेका छन्।


