तरुण खबर
२९ श्रावण २०८२, बिहीबार १२:३४
काठमाडाैं, २९ साउन । हिमालयन डिष्टीलरी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा १६१.१३ प्रतिशतको चामत्कारिक नाफा वृद्धि हासिल गरेको छ। कम्पनीले हालै प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवमा रु. ९५ करोड ३२ लाख खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको रु. ३६ करोड ५० लाखको तुलनामा २.६१ गुणा बढी हो।
कम्पनीको व्यापार विस्तार र आम्दानीमा भएको उल्लेख्य वृद्धिले नाफा बढाउनमा महत्त्वपूर्ण भूमिका खेलेको छ। गत आवमा कम्पनीको व्यापार ७३.३० प्रतिशत बढेर रु. ७ अर्ब २० करोड ११ लाख पुगेको छ, जुन अघिल्लो वर्ष रु. ४ अर्ब १५ करोड ५२ लाख थियो।
यसैगरी, कम्पनीको सञ्चालन नाफा पनि १६६.७८ प्रतिशत वृद्धि भई रु. १ अर्ब २८ करोड ८१ लाख पुगेको छ। कम्पनीको गैर सञ्चालन आम्दानी रु. ६ करोड ६९ लाख रहेको छ।
हाल कम्पनीको चुक्ता पुँजी रु. ३ अर्ब ७ करोड ३४ लाख छ। कम्पनीको प्रतिसेयर आम्दानी (EPS) रु. १७.३६ ले बढेर रु. ३१.०२ कायम भएको छ, जबकि प्रतिसेयर नेटवर्थ रु. १३५.८४ रहेको छ।


