तरुण खबर
३० श्रावण २०८२, शुक्रबार ११:२६
काठमाडाैं, ३० साउन । गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुसार, नेपालका वाणिज्य बैंकहरूमध्ये एभरेष्ट बैंक सबैभन्दा धेरै लाभांश दिन सक्ने क्षमतामा देखिएको छ। बैंकले आफ्ना सेयरधनीहरूलाई ३८.२७ प्रतिशतसम्म लाभांश दिन सक्ने सम्भावना रहेको छ।
एभरेष्ट बैंकले गत आर्थिक वर्षमा रु. ४ अर्ब ९१ करोड ८१ लाख खुद नाफा कमाएको छ। बैंकको वितरणयोग्य नाफा भने रु. ४ अर्ब ९५ करोड ४४ लाखभन्दा बढी छ। हाल बैंकको चुक्ता पुँजी रु. १२ अर्ब ९४ करोड ४६ लाख रहेकोले यो वर्ष लगानीकर्ताहरूलाई ३८.२७ प्रतिशत लाभांश दिने क्षमता देखिएको हो। अघिल्लो वर्ष पनि बैंकले २८.०६ प्रतिशत लाभांश दिन सक्ने क्षमता भए तापनि १५.५३ प्रतिशत मात्र लाभांश वितरण गरेको थियो।
यसैगरी, गत आर्थिक वर्षमा केही अन्य बैंकहरूको लाभांश क्षमता पनि दोहोरो अंकमा देखिएको छ। सानिमा बैंकको लाभांश क्षमता दोब्बर बढेर २०.४७ प्रतिशत पुगेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले चुक्ता पुँजीको १९.८५ प्रतिशतसम्म लाभांश दिन सक्नेछ भने कृषि विकास बैंकको लाभांश क्षमता १८.४२ प्रतिशत रहेको छ। सबैभन्दा धेरै नाफा कमाएको नबिल बैंकको लाभांश क्षमता १७.६४ प्रतिशत छ। ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक, र एनएमबि बैंक पनि क्रमशः १४.११, १३.२२, १२.३४, ११.२९, र १०.४१ प्रतिशत लाभांश दिन सक्ने अवस्थामा छन्।
यता, केही बैंकहरूको लाभांश क्षमता भने न्यून देखिएको छ। माछापुच्छ्रे बैंकको क्षमता ९.२३ प्रतिशत छ भने सिटिजन बैंकको ५.२५ प्रतिशत, प्रभु बैंकको ४.४४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको १.९४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.४४ प्रतिशत रहेको छ। यसका साथै, कुमारी, हिमालयन, एनआईसी एसिया र नेपाल बैंकको भने वितरणयोग्य नाफा ऋणात्मक रहेकाले उनीहरू यो वर्ष सेयरधनीहरूलाई लाभांश वितरण गर्न नसक्ने अवस्थामा देखिएका छन्।


