तरुण खबर
३० श्रावण २०८२, शुक्रबार ११:३२
काठमाडाैं, ३० साउन । राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफामा २२ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षमा आठ वटा विकास बैंकले कुल ५ अर्ब ६० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यो नाफा अघिल्लो वर्षको तुलनामा २२.०१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा यी बैंकहरूको नाफा ४ अर्ब ५९ करोड ६२ लाख रुपैयाँ थियो।
यस वर्ष नाफामा मुक्तिनाथ विकास बैंक पहिलो स्थानमा देखिएको छ। बैंकले एकै वर्ष १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३०.७० प्रतिशतले बढी हो। अघिल्लो वर्ष पनि बैंकले १ अर्ब १७ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो।
नाफा रकमको आधारमा दोस्रो स्थानमा गरिमा विकास बैंक रहेको छ। बैंकले १ अर्ब ३१ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। नाफा वृद्धिदरको आधारमा भने गरिमा बैंक पहिलो स्थानमा छ, जसको नाफा २०२ प्रतिशतले बढेको छ। गत वर्ष मुक्तिनाथ र गरिमा मात्रै अर्ब क्लबमा प्रवेश गरेका छन्।
नाफा रकमको आधारमा तेस्रो स्थानमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक छ। बैंकले गत वर्ष ६८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। चौथो स्थानमा रहेको कामना सेवा विकास बैंकको नाफा ९.१९ प्रतिशतले बढेर ६३ करोड ५२ लाख रुपैयाँ पुगेको छ।
यसैबीच, लुम्बिनी विकास बैंकको नाफामा भने ३०.१३ प्रतिशतले कमी आएको छ। गत वर्ष बैंकले ३७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ५४ करोड ३६ लाख रुपैयाँको तुलनामा कम हो।


