नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा ६४ प्रतिशतको बढोत्तरी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा ६४ प्रतिशतको बढोत्तरी तरुण खबर ३० श्रावण २०८२, शुक्रबार ११:३३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा ६४ प्रतिशतको बढोत्तरी

काठमाडाैं, ३० साउन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य नाफा कमाएको छ। शुक्रबार प्रकाशित बैंकको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, बैंकले ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६४.४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको खुद नाफा ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ थियो।

बैंकको ब्याज आम्दानी १४ अर्ब १२ करोड ८१ लाख रुपैयाँ रहेको छ, यद्यपि यो अघिल्लो वर्षको तुलनामा थोरै कम हो। बैंकको सञ्चालन नाफा भने ५८.६६ प्रतिशतले बढेर १० अर्ब १४ करोड २७ लाख ६६ हजार रुपैयाँभन्दा बढी पुगेको छ। यस वर्ष बैंकको वितरणयोग्य नाफा पनि सकारात्मक देखिएको छ, जुन ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ रहेको छ। यस आधारमा बैंकले आफ्ना सेयरधनीलाई १.३३ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ।

बैंकको व्यवसायमा पनि आक्रामक वृद्धि देखिएको छ। निक्षेप १७ प्रतिशतले बढेर ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी १८ प्रतिशतले बढेर ३ खर्ब २६ अर्ब ९३ करोडभन्दा माथि पुगेको छ। यद्यपि, बैंकको खराब कर्जा भने ४.९१ प्रतिशतबाट बढेर ५.८५ प्रतिशत पुगेको छ।

हाल बैंकको प्रतिसेयर आम्दानी १९.८० रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३१.०२ रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३२ अर्ब ७४ करोड १२ लाख रुपैयाँ रहेको छ।