एमसीसीअन्तर्गत प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता

एमसीसीअन्तर्गत प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता तरुण खबर ३० श्रावण २०८२, शुक्रबार ११:३६
एमसीसीअन्तर्गत प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता

काठमाडाैं, ३० साउन । नेपाल र अमेरिकाबीचको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताअन्तर्गत दुई ठूला विद्युत् प्रसारण लाइन निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौताले नेपालको विद्युत् प्रसारण प्रणालीलाई थप मजबुत बनाउनुका साथै देशभर सस्तो, भरपर्दो र प्रभावकारी ऊर्जा वितरणको बाटो खोल्ने विश्वास गरिएको छ।

बिहीबार एमसीए–नेपाल, एन्जेलिक–स्किपर जेभी र वाइबा–सलासर जेभीका बीचमा सम्झौता भएको हो। यस हस्ताक्षर कार्यक्रममा एमसीसीका कार्यवाहक नायब उपाध्यक्ष जोन विङ्गल, अर्थ सचिव घनश्याम उपाध्याय, कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सलगायतका उच्च अधिकारीहरूको उपस्थिति थियो।

सम्झौताअनुसार, रातमाटेदेखि न्यू दमौली र न्यू दमौलीदेखि न्यू बुटवलसम्मको २९७ किलोमिटर प्रसारण लाइनमध्ये १८० किलोमिटरको लाइनको डिजाइन, जडान, परीक्षण र निर्माण गरिनेछ। यो परियोजना नेपालको लागि विद्युत् व्यापार र क्षेत्रीय सञ्जाललाई सुदृढ बनाउन एक महत्वपूर्ण कदम मानिएको छ।

कार्यक्रममा बोल्दै कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सले यो सम्झौताले अमेरिकाको नेपालको दीर्घकालीन विकास र समृद्धिप्रतिको प्रतिबद्धतालाई देखाएको बताए। एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले यस प्रसारण लाइनले नेपालको समग्र विकासमा कोसेढुङ्गा साबित हुने बताए।

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग विष्टले परियोजनाको समयमै र प्रभावकारी कार्यान्वयनका लागि आफूहरू प्रतिबद्ध रहेको बताए। परियोजनाको कुल लागत १५.४५ करोड अमेरिकी डलर रहेको छ। यो सम्झौताले नेपालको लागि आर्थिक, सामाजिक र राजनीतिक सम्भावनाका नयाँ ढोकाहरू खोलेको र दुई राष्ट्रबीचको सहकार्यलाई अझ सुदृढ गर्ने विश्वास गरिएको छ।