तरुण खबर
३० श्रावण २०८२, शुक्रबार ११:४०
काठमाडाैं, ३० साउन । ट्रेड टावर लिमिटेडको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफामा भारी गिरावट आएको छ। कम्पनीले एक वर्षको अवधिमा ९९.३९ प्रतिशतले नाफा गुमाएको छ, जसले गर्दा खुद नाफा घटेर जम्मा १ लाख ३० हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ करोड १३ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको नाफा घटे पनि सञ्चालन आम्दानीमा भने उल्लेख्य वृद्धि देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ९ करोड ९८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४६९.४८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको सञ्चालन आम्दानी १ करोड ७५ लाख रुपैयाँ मात्र थियो।
नाफामा आएको यो गिरावट कम्पनीको कुल खर्च र वित्तीय खर्चमा भएको तीव्र वृद्धिको कारण हो। समीक्षा अवधिमा कम्पनीको कुल खर्च १२२.९१ प्रतिशतले बढेर १० करोड १३ लाख रुपैयाँ पुगेको छ, जबकि वित्तीय खर्च १९३.४४ प्रतिशतले वृद्धि भई ४ करोड ३४ लाख रुपैयाँ पुगेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि भारी गिरावट आएको छ। अघिल्लो वर्षको ५ रुपैयाँ ६३ पैसाबाट घटेर यस आर्थिक वर्षको चौथो त्रैमासमा २ पैसामा सीमित भएको छ। यसैगरी, प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ९३ पैसा रहेको छ।


