तरुण खबर
३० श्रावण २०८२, शुक्रबार १२:२८
काठमाडाैं, ३० साउन । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ आजबाट सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल प्रविधिमार्फत पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन्। ललितपुरको पुल्चोकस्थित ‘द प्लाजामा’ भइरहेको यो कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री ओली र विशेष अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ थिए।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी, नास्टका उपकुलपति दिलिप सुब्बा, मुख्यसचिव एक नारायण अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ लगायत विभिन्न सरकारी तथा निजी क्षेत्रका ५०० भन्दा बढी उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको छ।
आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले स्वागत मन्तव्य दिँदै विगत चार वर्षदेखि डिजिटल इकोसिस्टमको विकास र रूपान्तरणका लागि यो कार्यक्रम आयोजना गरिरहेको जानकारी दिए। प्रधानमन्त्री ओलीले पावर संवादमा बोल्दै अब नेपालले प्रविधि आयात मात्र नभई निर्यात पनि गर्न सक्नुपर्नेमा जोड दिए। उनले प्रविधिको विकास र प्रोत्साहनका लागि सरकार तयार रहेको पनि बताए।
कन्क्लेभमा डिजिटल गभर्नेन्स, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डिजिटल स्वास्थ्य, डिजिटल इकोनोमी, आइसिटी उद्योग लगायतका विषयमा ८ भन्दा बढी सेसनहरू सञ्चालन हुनेछन्। आज साँझ उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि पावर प्यानलिष्टका रूपमा सहभागी हुँदैछन्।
यस कार्यक्रममा विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी गुगलको पनि सहभागिता रहेको छ र यस अवसरमा उसले ‘गुगल स्ट्रिट भ्यू’ सार्वजनिक गर्ने जनाइएको छ। यस वर्ष कन्क्लेभमा शोधपत्र प्रस्तुति र १५ भन्दा बढी डिजिटल प्रडक्टहरू शोकेसमा राखिएको छ।
आइसिटी फाउन्डेसनले यसअघि प्रि-इभेन्टको रूपमा कर्णाली र मधेश प्रदेशमा पनि कन्क्लेभ आयोजना गरेको थियो। साथै, सातै प्रदेशमा डिजिटल साक्षरता अभियान ‘आइसिटी ज्ञान’ कार्यक्रम पनि सञ्चालन गरेको थियो। यो कन्क्लेभ डिजिटल रूपान्तरणका लागि महत्वपूर्ण पहल साबित हुने अपेक्षा गरिएको छ।


